काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको चार महिनापछि नेपालका दुई प्रमुख छिमेकी भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् । सोमबार हुने यी भेटलाई सरकारको आगामी कूटनीतिक प्राथमिकताका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दुवै भेट छुट्टाछुट्टै हुने भएकाले नेपाल–भारत र नेपाल–चीन सम्बन्धका विषयमा प्रधानमन्त्रीले अलग–अलग छलफल गर्ने तयारी गरेको देखिन्छ । यद्यपि भेटमा उठाइने विषयबारे सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री बनेपछि शाहले चैत २५ गते विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट गरेका थिए । तर भारत र चीनका राजदूतसँग भने चार महिनापछि पहिलोपटक औपचारिक एकल भेटवार्ता हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एसिया मामिला हेर्ने प्रमुख दूत तथा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भेट गर्न अस्वीकार गरेको विषय चर्चामा आएको थियो । त्यस्तै भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणसमेत भेटवार्ता तय हुन नसकेपछि अन्तिम समयमा रद्द भएको थियो ।

यस्तो पृष्ठभूमिमा भारत र चीनका राजदूतसँग एकै दिन तय भएको भेटलाई प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियताको नयाँ चरणका रूपमा हेरिएको छ ।

नेपालले दुई छिमेकीसँगको सम्बन्धलाई सन्तुलित राख्दै आर्थिक सहकार्य, पूर्वाधार, व्यापार, ऊर्जा तथा सीमा लगायतका विषयमा अघि बढ्नुपर्ने अवस्थामा प्रधानमन्त्रीको यो भेटवार्ता थप चासोको विषय बनेको छ ।