सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा घरमै मृत भेटिएका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा प्रहरीले १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि कटवाल र कार्कीबीच विवाद भएको थियो । विवाद चर्किँदै गएपछि रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरमै कटवाल मृत अवस्थामा भेटिएपछि घटनाको अनुसन्धान थालेको प्रहरीले घटनासँग जोडिएका व्यक्तिमाथि अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा कार्की पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा कार्कीले विवादपछि चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । यद्यपि घटनाको सम्पूर्ण पाटो खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको छ । प्रहरीले घटनामा प्रयोग भएको भनिएको हतियार, घटनाको पृष्ठभूमि तथा विवादको वास्तविक कारणबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।
सामान्य विवादबाट सुरु भएको भनिएको घटना ज्यानै जाने अवस्थामा पुगेपछि सोलुखुम्बुको यो घटनाले मदिराजन्य विवादको जोखिमलाई फेरि सतहमा ल्याएको छ ।






































