सोलुखुम्बु / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गरेको आरोपमा चार चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आयोजनामा कार्यरत चालकहरूले नियमित रूपमा डिजेल चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनापछि अनुसन्धान अघि बढाएको जनाएको छ। अनुसन्धानका क्रममा चोरीको डिजेल खरिद गर्ने एक व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूबाट ६६५ किलोग्राम अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरिएको छ।
पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका–८ का ४२ वर्षीय श्यामबहादुर जोगी रहेका छन्। त्यस्तै, सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २४ वर्षीय केशव कार्की, सोही स्थानका २४ वर्षीय लिला बहादुर चौहान, सोलुखुम्बु थुलुङ दूधकोशी गाउँपालिका–१ का २५ वर्षीय यामबहादुर बस्नेत र सोही गाउँपालिका–६ का २४ वर्षीय आकाश राई पक्राउ परेका छन्।
उनीहरू सबै जलविद्युत् आयोजनामा चालकका रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निर्मल थापाले जानकारी दिए। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्यादसमेत लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।






































