काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहँदा क्लबका अध्यक्ष ऋषि धमलाले सरकारसँग तत्काल सञ्चालनको वातावरण बनाउन आग्रह गरेका छन् । सम्झौताअनुसार भाडा भुक्तानी गरिसक्दा पनि ताला नखुलेको भन्दै उनले सरकारी निकायको ध्यानाकर्षण गराएका हुन् ।
क्लब परिसरमै पत्रकार सम्मेलन गर्दै धमलाले समाज कल्याण परिषद्लाई बुझाउनुपर्ने ३८ हजार ७२१ रुपैयाँ भाडा तिरेको एक महिना बितिसक्दा पनि क्लब सञ्चालन हुन नसकेको बताए ।
उनले क्लब बन्द हुनु केवल एउटा संस्थाको समस्या नभई पत्रकार तथा नागरिकले आफ्ना कुरा सार्वजनिक रूपमा राख्ने थलो बन्द हुनु भएको तर्क गरे । लोकतान्त्रिक आन्दोलनदेखि गणतन्त्र स्थापनासम्म रिपोर्टर्स क्लबले सार्वजनिक बहस र नागरिकका आवाजलाई स्थान दिएको उनको दाबी थियो ।
धमलाले आफू प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति सकारात्मक रहेको समेत बताए । बालेन महानगर प्रमुख हुँदा आफूले समर्थन गरेको र अहिले सरकारको भ्रष्टाचार नियन्त्रण तथा सुशासन अभियानमा पनि साथ रहने उनको भनाइ थियो । तर, सरकारलाई समर्थन गरे पनि जनताको आवाज उठाउने संस्थामाथि भएको अवरोध स्वीकार्य नहुने उनले स्पष्ट पारे ।
‘सरकारलाई साथ छ, तर जनताको आवाज बोल्ने क्लब किन बन्द?’ भन्ने प्रश्न उठाउँदै धमलाले सम्बन्धित निकायले तत्काल समस्या समाधान गर्नुपर्ने बताए । उनले जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङलगायत अभियन्ताहरूका धारणा सार्वजनिक गर्न रिपोर्टर्स क्लबले भूमिका खेलेको स्मरणसमेत गरे । कोरोना महामारीका बेला क्लब दुई महिनासम्म बन्द हुँदा समेत आफूहरूले सम्झौताअनुसार भाडा तिरेको उल्लेख गर्दै धमलाले अहिले पनि आर्थिक दायित्व पूरा गरिसकेको अवस्थामा क्लब बन्द राखिनुको कारण स्पष्ट पार्न माग गरे ।






































