काठमाडौं / बूढानीलकण्ठ स्कुलमा मञ्चन गरिएको सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ ले विद्यार्थी, अभिभावक, शिक्षक तथा साहित्यप्रेमी दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

विद्यालयको नेपाली विभागको आयोजनामा साउन १९ गतेदेखि चार दिनसम्म नाटक प्रदर्शन गरिएको थियो। नाटकले बाल्यकालको निष्कलुष सम्बन्धबाट सुरु भएर वर्गीय विभाजन, आर्थिक असमानता, उपभोक्तावादी सोच, पारिवारिक सम्बन्ध र मानिसभित्रका मनोसामाजिक द्वन्द्वलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। बाल्यकालका साथी आयुष र महेशको जीवनयात्रामार्फत भौतिक सफलता र मानवीय मूल्यबीचको अन्तरलाई नाटकले उजागर गरेको छ।

‘फलामे गेट’लाई केवल भौतिक संरचना नभई समाजमा विकसित हुने वर्गीय दूरी, पूर्वाग्रह र मानसिक विभाजनको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ। प्रयोगधर्मी शैलीमा तयार गरिएको नाटकमा दर्शकलाई समेत कथाको वैचारिक यात्रामा सहभागी गराइएको विशेषता रहेको छ। नाटकले बालबालिकाको मनोविज्ञान, अभिभावकीय जिम्मेवारी, शिक्षा, नैतिकता र मानवीय सम्बन्धको महत्वलाई मुख्य विषय बनाएको छ।

भौतिक सुविधा मात्र पर्याप्त नहुने र बालबालिकालाई समय, माया, संस्कार तथा सकारात्मक वातावरण दिनुपर्ने सन्देश नाटकले प्रवाह गरेको छ। प्रेमनारायण भुसालको लेखन तथा मुख्य निर्देशनमा तयार भएको नाटकमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी कलाकारहरूको सहभागिता रहेको थियो।

चार दिनसम्म चलेको प्रदर्शनमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकका साथै उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी र शिक्षकहरूले नाटक अवलोकन गरेका थिए। नाटकको समापन समारोहमा लेखक तथा नाटककार प्रेमनारायण भुसाललाई शिक्षा, साहित्य, मनोविज्ञान र रङ्गमञ्चमा पुर्‍याएको योगदानको कदर गर्दै विद्यालयले सम्मानसमेत गरेको थियो।

कार्यक्रममा सहभागीहरूले ‘फलामे गेट’लाई विद्यालयमा मात्र सीमित नराखी देशका विभिन्न स्थानमा प्रदर्शन गरी यसको सामाजिक सन्देशलाई व्यापक बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।