काठमाडौं— नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे सुरु हुने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।
बुधबार बसेको पदाधिकारी बैठकले स्थायी कमिटी बैठकका लागि पाँच प्रमुख एजेन्डा तय गरेको थियो। ती एजेन्डामा पोखरामा रोकिएको पार्टी अभियानलाई पुनः सुरु गर्ने विषय, केन्द्रीय समितिको बैठकको मिति निर्धारण, समाजवादी मोर्चालाई सक्रिय बनाउने र विस्तार गर्ने, सङ्गठन निर्माण तथा विकास, र आन्तरिक एकता सुदृढीकरणबारे छलफल गरिनेछ।
पार्टीभित्र पछिल्लो समय देखिएको अन्तरविरोध पनि बैठकको प्रमुख सरोकारको विषय बनेको छ। विशेष गरी नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चलेपछि पार्टीभित्रको असहमति सतहमा आएको छ।
बैठकले ती अन्तरविरोध समाधानका उपायबारे समेत महत्वपूर्ण छलफल गर्ने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूले यो बैठकलाई माओवादी केन्द्रको आगामी रणनीति र आन्तरिक सन्तुलनको दिशामा निर्णायक मोडको रूपमा हेरिरहेका छन्।