काठमाडौं— आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले २०८२ साउन १५ गते एक सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेभित्र आयोगको केन्द्रीय कार्यालयमा दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो।
निर्वाचन आयोगले यसअघि नै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ मा उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरिसकेको छ।
कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ। सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ।
यसपटकको उपनिर्वाचनमा असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। मतदान सोही निर्वाचन क्षेत्रभित्र तोकिएका मतदान केन्द्रहरूमा हुनेछ।
निर्वाचन आयोगले २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिहरूलाई उम्मेदवार बन्न नपाइने स्पष्ट पारेको छ।
रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पद खाली भएपछि उपनिर्वाचनको तयारी सुरु भएको हो। आयोगले सबै राजनीतिक दलहरूलाई समयमै आवश्यक तयारी गर्न आग्रह गरेको छ।