काठमाडौं— संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछिन्।
प्रतिवेदनमाथि छलफलपछि प्रधानमन्त्री ओलीले सम्बोधनसहित सांसदहरूको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको जानकारीसमेत गराइनेछ।