हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन् । 

सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन् । किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर । मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ 

मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चार मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ । 

काङ्ग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रुपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरुलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहेपनि त्यो सफल हुन सकेको छैन् । 

लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको गरिएपनि सफल नभएको बुझिएको छ ।