काठमाडौं । राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले हालसम्म गरेको काम कारवाही र आगामी कार्ययोजनाबारे जानकारी गराएको छ ।
शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले काम कारवाही र आगामी कार्ययोजना सार्वजनिक गरेको हो ।
संस्थाले नेपालका युवालाई श्रम बजारको माग अनुरुप आवश्यक सिपद्वारा सशक्त बनाउँदै स्वदेश तथा वैदेशिक रोजगारमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरेको छ ।
साथै, संस्थाले विभिन्न सरकारी निकाय, निजी क्षेत्र, उद्योग वाणिज्य संघ, विकास साझेदार र स्थानीय सरकारसँग सहकार्य गरी देशको सीप प्रणालीलाई एकीकृत र परिणाममुखी बनाउने प्रयास गरिरहेको पनि जानकारी दिएको छ ।
श्रम बजारको मागको अध्ययन, विश्लेषण गरी सो अनुरूप नयाँ तालिम कार्यक्रमहरूको विकास र सञ्चालन, व्यवसायिक तालिमलाई उद्योगसँग जोड्ने र कार्यस्थल–आधारित तालिमलाई प्राथमिकता दिने, तालिमको गुणस्तर सुधार र एकरूपता कायम राख्ने जस्तो काम गरिसकेको पनि प्रतिष्ठानले जनाएको छ ।
आगामि दिनमा वैदेशिक रोजगारमा जाने कामदारहरूलाई सम्बन्धित देशको आवश्यकताको आधारमा सीप विकास गर्ने, अन्तर्राष्ट्रिय सीप मान्यता प्रणालीसँग समन्वय गरी प्रमाणिकरण र रोजगारको सहजता बढाउने र नेपालमा कार्यरत विभिन्न तालिम प्रदायकहरूलाई समन्वय गर्ने, तालिमका मापदण्ड तयार गर्ने र तालिम प्रणालीलाई व्यवस्थित तथा गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिष्ठानको उद्देश्य रहेको छ ।