काठमाडौं – नेकपा एमालेका पूर्व नेता भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले केपी शर्मा ओली र पुष्पकमल दाहालसँग गठबन्धन गरेर पद लिनु पार्टीकै लागि घाटाजनक भएको बताएका छन्।
बुधबारको एउटा कार्यक्रमको कुराकानीमा रावलले रास्वपाले "नो नट अगेन" भन्ने अभियान चलाएर पुराना नेताहरूलाई अस्वीकार गर्ने भनिए पनि अन्ततः तिनै नेतासँग हातेमालो गरेको बताए।
"उहाँहरूले अङ्ग्रेजीमा ‘नो नट अगेन’ भन्नुभयो, अर्थात् यिनी पुराना नेताहरू थलिए, असफल भए, यिनीसँग हिँडिन्न भन्ने सन्देश दिनुभयो। तर अन्ततः तिनै केपी ओली र पुष्पकमल दाहालसँग अँगालो मारेर मन्त्रालय लिएर जानुभयो," रावलले भने।
उनका अनुसार रास्वपा प्रारम्भमा नयाँ सम्भावना बोकेर आएको पार्टीका रूपमा देखिएको भए पनि पछिल्ला राजनीतिक निर्णय र रवि लामिछानेसम्बन्धी विवादले पार्टीप्रति जनविश्वास कमजोर बन्दै गएको छ।
"रवि लामिछानेजीका बारेमा उठेका विषयहरूले पार्टीको छविमा असर पारेको देखिन्छ। यद्यपि सदस्यता विस्तार र हस्ताक्षर अभियान भने रणनीतिक रूपमा गरिएको जस्तो देखिन्छ," रावलले टिप्पणी गरे।