काठमाडौं— पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन्। एमालेले उनको पार्टी सदस्यता नवीकरण रोक्ने निर्णय गरेपछि उनले आफ्नो धारणा सार्वजनिक गर्दैछिन्।
गत असार १४ गते, मदन जयन्तीका दिन भण्डारीले राजनीतिमा फर्किने संकेत दिएकी थिइन्। तर त्यसको केही हप्तामै एमालेले उनीमाथि राजनीतिक प्रवेश गर्न रोक लगाउने निर्णय गर्यो। औपचारिक रूपमा पार्टीले उनलाई निष्क्रिय बनाउने तयारी गरेपछि भण्डारी असन्तुष्ट बनेकी छन्।
भण्डारी पक्षले यो निर्णयलाई अध्यक्ष केपी ओलीको चालका रूपमा हेरेको छ। उनी अब प्रतिकारको तयारीमा छिन्। कानुनी रूपमा पनि एमालेको निर्णयविरुद्ध जाने संकेत उनले दिएकी छन्।
आजको पत्रकार सम्मेलनमा उनले आफ्नो आगामी योजना, रणनीति र राजनीतिक भविष्यको बारेमा खुलेर बोल्ने अनुमान गरिएको छ।
एमालेभित्र पनि यो निर्णयलाई लिएर असन्तुष्टि देखिएको छ। उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापाजस्ता नेताहरू भण्डारीको पक्षमा देखिएका छन्। उनीहरू नयाँ राजनीतिक विकल्पको खोजीमा छन् भन्ने चर्चा छ।
अब सबैको ध्यान आजको पत्रकार सम्मेलनमा केन्द्रित छ : भण्डारीले के भन्छिन् ? नयाँ दल खोल्ने संकेत दिन्छिन् त ? कि ओलीलाई सीधै चुनौती दिन्छिन् ?