काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् ।
शुक्रबार बिहान सामाजिक
सञ्जालमा लेख्दै उनले थकित भएकाले हिजो
(बिहीबार) बाहिरका कुनै कार्यक्रममा सहभागी नभएको जानकारी दिएका हुन् ।
‘दिनरात नै लगातार कामको चापका
कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज महोत्तरी र बारा
जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन
सकेको छैन । त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ
भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुनेछ ।’
प्रधानमन्त्री ओलीले आज
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने कार्यक्रम
तय भएको छ । त्यसैगरि प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित
रातुखोलामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रमसमेत छ ।
प्रधानमन्त्रीले बाराको
परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन
गर्नेसमेत कार्यक्रम तय भएको जनाएका छन् ।