काठमाडौं । अनधिकृतरूपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ ।
पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो ।
सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवम् अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्न/गराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।