काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (ग्रेडवृद्धि) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले बिहीबार राति परीक्षाफल प्रकाशित गरेको हो।

बोर्डका अनुसार यस वर्षको मौका परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जना सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्, जुन कुल सहभागीको ८१.१९ प्रतिशत हो।

परीक्षा बोर्डले तीन जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको जनाएको छ। साथै, प्रकाशित नतिजामा कुनै प्राविधिक त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने बोर्डले स्पष्ट पारेको छ।

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आइभीआर (IVR) सेवामार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ।

उल्लेखनीय छ, बोर्डले कक्षा १२ को मौका परीक्षा यही साउन २ र ३ गते सञ्चालन गरेको थियो।