काठमाडौ । निर्वाचन आयोगले उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको हो ।
तनहुँ १, चितवन २ र बारा २ मा आज उपनिर्वाचन सकिएपछि १३ गतेभित्र तिनै क्षेत्रको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ । यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो ।
आज बेलुका ८ बजेभित्र सबै ठाउँको मतपेटिका मतगणना स्थल पुर्याएर ढिलोमा ९ बजेदेखी गणना सुरु गर्ने गरि तयारी भैरहेको छ । चुनाव हुन लागेको मध्य चितवन–२ को इच्छाकामना गाउँपालिका र कालिका नगरपालिका तथा तनहुँ–१ को केही वडाको मत संकलन गरेर ढुवानी गर्न समय लाग्ने आयोगले जनाएको छ ।
मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तुलनामा बारा २ र चितवन २ मा मतदाता संख्या बढेको छ भने तनहुँ १ मा भने घटेका छन । मंसिरको चुनावमा चितवन २ मा १ लाख २४ हजार २१५, बारा २ मा १ लाख ०५ हजार ०११ र तनहुँ १ मा १ लाख २३ हजार ४९० मतदाता थिए ।
उपनिर्वाचनका लागि चितवन २ मा ४७० थप भइ १ लाख २४ हजार ६९५, बारा २ मा २३७ थप भइ १ लाख ५ हजार २४८ र तनहुँ १ मा १८५ घटेर १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् ।