एजेन्सी । म्यान्माको याङ्गुनमा विद्रोही लडाकूले शनिबार निर्वाचन आयोगका उपप्रमुखको गोली हानी हत्या गरेको सेनाले जनाएको छ ।

म्यान्मारको सेनाले दुई वर्षभन्दा बढी समयअघि सत्ता कब्जा गरेपछि यस कदमविरूद्ध असहमति व्यक्त गर्ने सर्वसाधारणमाथि समेत रक्तपातपूर्ण दमनको नेतृत्व गरेको छ । यो कदमले म्यान्मामा सामाजिक अशान्ति र आर्थिक सङ्कट निम्त्याएको छ ।

OM Sai Pathibhara Hospital

स्वघोषित नागरिक ‘पिपुल्स डिफेन्स फोर्सेज’ जुन्टाको विरोधमा खडा भएका छन् र उनीहरूका लडाकुहरूले सेनासँग काम गर्ने अधिकारीहरूलाई निशाना बनाएका छन् ।

सेनाको सञ्चार टोलीले जारी गरेको विज्ञप्तिमा केन्द्रीय निर्वाचन आयोगका उपनिर्देशक साई क्याव थुको पूर्वी याङ्गुनको थिङगायुन सहरमा गोली हानी हत्या गरिएको जनाइएको छ ।

सेनाले आक्रमणमा ‘पिपुल्स डिफेन्स फोर्सेज’ जिम्मेवार रहेको बताएको छ तर थप विवरण भने दिएको छैन । सेनाले सन् २०२१ को फेब्रुअरीमा नागरिक नेतृ आङ सान सुकीको निर्वाचित सरकारलाई अघिल्लो वर्षको चुनावमा धाँधली गरेको निराधार आरोप लगाउँदै अपदस्थ गरेको थियो ।

म्यान्मारमा सेनाले सत्ता कब्जा गरेदेखि नै उथलपुथल मच्चिएको छ । विरोधका कारण जातीय विद्रोहीहरूसँग नयाँ लडाईंहरू सुरु भएका छन् । अहिले सेनासँग सङ्घर्ष गर्ने दर्जनौं अन्य विपक्षी समूहहरू रहेका छन् । देशभरि, लगभग हरेक दिन निम्न स्तरका जुन्टा अधिकारीहरू वा कथित मुखबिरहरूको हत्या भइरहेको छ ।

गत वर्ष अप्रिलमा म्यान्मारको केन्द्रीय बैङ्कका उपप्रशासकलाईसेनाले सत्ता कब्जा गरेको केही दिनपछि नियुक्त गरेको थियो र उनलाई याङ्गुनस्थित उनको घरमा अज्ञात आक्रमणकारीले गोली हानेका थिए ।

सन् २०२१ को नोभेम्बरमा सेना र भियतनामी कम्पनी भियतटेलको दूरसञ्चार कम्पनी माइटेलका एक उच्च अधिकारीको याङ्गुनस्थित घरबाहिर गोली हानी हत्या गरिएको थियो ।