पोखरा । पोखराको रत्नचोकमा रहेको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता दिन अझै आनाकानी गरेको छ ।
बचतकर्ताको पैसा फिर्ता गर्न कबुल गरेको ३ महिने म्याद सकिदासमेत सहकारीले आनाकानी गरिरहेको छ ।
सहकारी सुरक्षित ठानेर राखेको रकम दु:ख पर्दा झिक्न नपाएपछि बचतकर्ताले पुस अन्तिममा पोखरा महानगरपालिकाको सहकारी शाखालाई गुहारेका थिए।
महानगरको सहकारी शाखाले सञ्चालक समिति र बचतकर्ताबीच चैत २८ गतेभित्र बचत रकम फिर्ता गर्ने सहमती गराएको थियो ।
सहकारीले फेरि पनि पूरानै सञ्चालक समितिलाई देखाएर रकम फिर्ता गर्नबाट पन्छिन खोजिरहेको छ ।
बचत फिर्ता माग्दा सहकारी सञ्चालक समितिले बचतकर्तालाई घरघडेरी बेचेर तिर्न सक्दैनौं हामी प्रकृयामै छौं भन्ने जवाफ दिएर पन्सिने गरेका छन।
‘उहाँहरुले ३ महिनाको टाइम दिनुभाथ्यो । चैत २८ गते कटिसक्यो’, बचतकर्ता रस्मिता बरालले भनिन्, ‘अहिले कसैले पनि फोन उठाउनुहुन्न । रेस्पोन्स पनि गर्नहुन्न ।’ पुरानो समितिलाई देखाएर पन्छिने गरेको उनले बताइन् ।
लेकसाइडमा व्यापार गर्ने उनले छोरीको जिवन बिमाको प्रिमियम रकम तिर्नलाई दैनिक बचत गरेकी थिइन । अहिले आवश्यक परेको बेला आफ्नै बचत रकम पाउन मुस्किल परेको छ ।
विरौटाको खाजा पसलको व्यापारबाट भोजबहादुर गुरुङले २ लाख २० हजार रुपैयाँ साथी किसान कृषि सहकारीमा जम्मा गरे ।
गुरुङले सहकारीमा कार्यरत बजार प्रतिनिधिलाई चिनेकै आधारमा बचत गर्न थालेको थिए ।
६ महिनादेखि धाउँदा पनि फिर्ता नपाएको उनले बताए । ‘भाका फेरिरहन्छन् । हामीलाई पूरानो समितिले फसाए हिसाबै दिएनन् मात्रै भन्छन् । पैसा फिर्ता गर्ने छाँटै छैन’ गुरुङले भने ।
आफ्नै पैसा फिर्ता नपाएपछि निकै समस्या परेको उनले सुनाए । ‘व्यापार पनि छैन यतिखेर ।
सामान ल्याएको ठाउँमा तिर्न सकेको छैन’, उनले भने । व्यक्ति भन्दा सुरक्षित ठानेको सहकारीले डुबाएको उनी बताउँछन् ।
आइतबार सहकारीका सञ्चालक समिति र बचतकर्ताबीच छलफल हुँदा बैशाख १२ गतेसम्म रकम फिर्ता गर्ने नयाँ सहमती भएको छ ।
बजारमा फसेको रकम नउठ्दा बचत फिर्ता गर्न ढिलाइ भएको सहकारीका उपाध्यक्ष चेतबहादुर हमालले बताए ।
‘बजारबाट उठाउन कोशिस गरिरहेका छौं । चेक उठेको छ, क्यास उठेको छैन । त्यसैले समस्या भएको छ’, उनले भने ।
आर्थिक मन्दीको कारण देखाउदै उठ्नपर्ने पैसा नउठेको उनले बताए । ‘हप्तादिनभित्र जति उठ्छ त्यति रकम बचतकर्तालाई फिर्ता दिन्छौं’, उनले भने ।
स्वास्थ्य मन्त्री बन्नलाई मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग साढे २ करोड रुपैयाँ मागेको अडियो संवाद सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको निष्कासनमा परेका सांसद ढाकाकुमार श्रेष्ठ सहकारीको पूर्व अध्यक्ष हुन् ।
ढाकाकुमारले आफू राजनीतिमा लागेको भन्दै सहकारीको अध्यक्ष पद कात्तिकदेखि छाडेका थिए । अहिले डा. शनि पाठक सहकारीको अध्यक्ष छन् ।
श्रेष्ठले पाठकलाई अधिवेशनको ३ महिनापछि पुस २९ गते मात्रै हिसाबकिताब बुझाएका थिए।
हिसाबकिताब बुझबुझारथ नहुन्जेलसम्म पुरानो कार्य समितले ९९ लाख रुपैयाँ बढी हिसाब नभएको आरोप लगाउँदै आएका थिए ।
सञ्चार माध्यममा सार्वजनिक भएपछि श्रेष्ठले बुझबुझारथ गराएका हुन्।
सहकारीले बचतकर्ताको २० लाख रुपैयाँ बढी फिर्ता गर्न बाँकी छ । गत पुसदेखि सहकारीको सटरमा ताल्चा लागेको छ । गएको असारदेखि प्रबन्धक नै थिएनन् ।
कुखुरा पालक किसान र मासु व्यवसायीसँग सहकार्य गर्ने उदेश्यले खुलेको सहकारीले किसानलाई दाना, चल्ला उपलब्ध गराउने र उनीहरुबाट हुर्केका कुखुरा खरिद गरेर फ्रेस हाउसमा मासु सप्लाइ गर्ने गर्दथ्यो ।
बचतकर्ताको रकम उठाएर विचल्ली पारेको सहकारीले उदेश्य अनुसार काम गर्न नसक्दा शेयर सदस्यलाई पनि निराश बनाएको छ ।
२०७६ सालमा पुरानो एक सहकारीलाई स्वामित्वमा लिएर नाम फेर्दै साथी किसान कृषि सहकारी संस्थाको नामबाट सञ्चालनमा आएको सहकारीका सञ्चालक समितिको लापरवाहीले छोटो समयमै संकटमा फसेको देखिन्छ ।