काठमाण्डौ । रियल स्टेट तथा परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्दै आएको आरकेडी होल्डिंग्सले नेपालमा नै रासायनिक मलको उद्योग खोल्ने तयारी थालेको छ ।
विगत ८ वर्षदेखि रियल स्टेटको व्यवसाय गर्दै आएको कम्पनीले करिब ८० अर्बको लगानीमा नेपालमा नै अत्याधुनिक प्रविधियुक्त रासायनिक मल सहितका उद्योग खोल्ने तयारी थालेको हो ।
केही दिन अघि बसेको कम्पनीको छैठौं साधारण सभाले स्टिल तथा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव पारित गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन।
उनका अनुसार साधारण सभाले स्वीकृति दिएसँगै अब उक्त दुई परियोजना निर्माणको तयारी सुरु हुने भएको छ ।
नेपाललाई निर्यातमुखी र उत्पादनमुखी उद्योगको खाँचो देखिएको भन्दै कम्पनीले आगामी चार वर्षभित्र सञ्चालन गर्ने गरी स्टिल उद्योग स्थापना गर्ने तयारी गरेको छ।
कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँको लागतमा उक्त उद्योग खोल्ने तयारी थालेको हो ।
७५ अर्बभन्दा बढी लगानीमा पूर्ण इलेक्ट्रिक सिस्टममा आधारित पूर्णरुपमा स्वचालित अत्याधुनिक प्रकारको रासायनिक मल उत्पादन गर्ने तयारी पनि थालेको छ ।
आगामी १० वर्षभित्र मल उत्पादन गरिसक्ने कम्पनीको तयारी छ । उक्त उद्योगबाट वार्षिक रुपमा ४ लाख मेट्रिकटन युरिया मल उत्पादन गर्नसक्ने तयारी भएको समेत अध्यक्ष शर्माले बताए।
नेपालमा वार्षिक रुपमा ८ लाख मेट्रिकटन भन्दा बढी युरिया मलको माग हुँदा आयातलाई निरुत्साहन गर्न नेपालमा नै रासायनिक मल उद्योग सञ्चालनको तयारी थालिएको उनको भनाइ छ ।
परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियल स्टेट ब्यापार गर्ने उद्देश्य राखेर युवा व्यवसायीहरु मिलेर उक्त कम्पनी सञ्चालनमा ल्याएका हुन् ।
कम्पनीले हाल रियल स्टेट, पूर्वाधार, पर्यटन, होटल, साहसिक पर्यटन क्षेत्र तथा रोप–वे केवलकारको उद्योगहरु निर्माणको नेतृत्व गरिरहेको छ ।
कम्पनीले उक्त नीती अनुसार हाल सातै प्रदेशमा केबलकार सहितको तारे होटलहरु निर्माण गरिरहेको छ ।