सुनसरी / सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो ।
सप्तकोसीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो ।
सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ ।
मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । बुधवार मन्त्री कार्कीसहित सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपद्मा फसेकाहरूलाई उद्धार गराएका थिए ।
त्यस्तै सरकारले पनि बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका लागि सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सहयोग मागेको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईका अनुसार प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गरिनेछ ।
प्राधिकरणले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ । राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिसकिएको छ ।’
प्राधिकरणका अनुसार हाल नेपाल रेडक्रस सोसाइटीले एक सय थान त्रिपाल, एक थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ भने खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरूलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइका सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरू खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघ मार्फत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
बुधबार बाढी बस्तीमा पसे लगत्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित नागरिकको स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
त्यस्तै बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले वेलका नगरपालिका –३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता भट्टराइका अनुसार वेलका नगरपालिका –९ को धौरीमा तथा वडा नं। ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५–५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ ।
आवश्यकता अनुसार वडा नं। १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं। २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं। ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।
अहिले कोसीले बाँध भत्काएर मानववस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गथ्र्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए ।