काठमाडौं–तिहारमा पटका पड्काइएपछि काठमाडौंको वायु प्रदूषण बढेको छ। शुक्रबार साँझ एयर क्वालिटी इन्डेक्स (एक्युआई) अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क १६० पुगेको छ, जसले सहरलाई विश्वको आठौँ प्रदूषित सहरको सूचीमा राखेको छ ।
पटका पड्काउँदा वायु र ध्वनी प्रदूषण बढ्ने भएकाले नियन्त्रण आवश्यक रहेको विज्ञ बताउँछन् । वातावरणविद्हरुले पनि पटकाबाट निस्कने रसायनले प्रदूषण बढाउने, श्वासप्रश्वासमा समस्या ल्याउने, र स्वास्थ्यलाई असर पुर्याउने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
वातावरण अभियन्ता राजन थापाले दिपावलीका बेला पटका पड्काउनुका साथै बाढी-पहिरो, धुलो, तथा चिसो हावाको मिश्रणले पनि प्रदूषण बढाएको बताए । स्वास्थ्यविद्हरुले पटकाका विषाक्त ग्यासले एलर्जी, आँखा पोल्ने, दम, र अन्य समस्या गराउने चेतावनी दिएका छन् ।
मुलुकी अपराध संहिता २०७४ अनुसार बिना इजाजत विष्फोटक पदार्थ उत्पादन गर्न नपाइने व्यवस्था छ। यसको उल्लङ्घन गरेमा कडा कारबाही हुने उल्लेख छ ।