काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको उद्धार तथा राहतका नाममा सामाजिक सञ्जालमा उनीहरूको तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण जथाभावी सार्वजनिक हुन थालेपछि प्रेस काउन्सिल नेपालले सचेत गराएको छ।
काउन्सिलले विपद्को समयमा पीडित बालबालिकाको अवस्था देखाउने नाममा सार्वजनिक गरिएका सामग्रीले उनीहरूको आत्मसम्मान, गोपनीयता र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेको हो।
काउन्सिलले प्राकृतिक विपद् तथा दुर्घटनासम्बन्धी तस्बिर वा दृश्य सम्प्रेषण गर्दा बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पर्न सक्ने भएकाले संवेदनशील हुनुपर्ने जनाएको छ।
त्यस्तै, पीडित बालबालिकाको अवस्था देखाएर उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री बनाउन नहुने, राहत तथा उद्धारका नाममा उनीहरूको असहाय अवस्था देखाएर आत्मसम्मानमा चोट पुर्याउने काम गर्न नहुने काउन्सिलको भनाइ छ।
बालबालिकालाई ‘कन्टेन्ट’ होइन, पीडितका रूपमा हेर्नुपर्ने भन्दै काउन्सिलले तत्कालीन मात्र नभई दीर्घकालीन असरलाई समेत ध्यानमा राखेर सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।
काउन्सिलले बालबालिकाको व्यक्तिगत पहिचान खुल्ने गरी तस्बिर वा श्रव्यदृश्य सामग्री सार्वजनिक नगर्न समेत भनेको छ। पत्रकार आचारसंहिताले पनि बालबालिकासम्बन्धी सामग्री सम्प्रेषण गर्दा उनीहरूको गोपनीयता, मर्यादा र संवेदनशीलताको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।
विशेषगरी विपद्का बेला उद्धार वा राहतको दृश्य तत्काल सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढ्ने भएकाले काउन्सिलले पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सम्बन्धित सबैलाई संयम अपनाउन आग्रह गरेको छ।
भोटेकोशीको विपद्मा राहत र उद्धार आवश्यक छ, तर पीडित बालबालिकाको गोपनीयता र सम्मानको मूल्यमा होइन—प्रेस काउन्सिलको सन्देश यही हो।






































