काठमाडौँ । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि खोजी तथा उद्धार अभियान जारी रहे पनि मानवीय क्षतिको आँकडा झन् भयावह बन्दै गएको छ। हालसम्म ९८७ शव फेला परेका छन् भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ छन्।
सम्पर्कविहीन हुनेमा रसुवाका करिब ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ६३९ र विदेशी नागरिक ५८३ जना छन्। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत सम्पर्कविहीन सूचीमा छन्।
बाढीमा २७९ जना घाइते भएका छन् भने सरकारले हालसम्म ११ हजार ८१४ जनाको उद्धार गरेको जनाएको छ। अहिले प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर खोजी, उद्धार, राहत वितरण र शव व्यवस्थापनलाई निरन्तरता दिइएको छ।
बाढी गएको दिन बित्दै जाँदा राहतको आशाभन्दा बेपत्ताको सूची र भेटिँदै गरेका शवको संख्या बढ्दै गएको छ।




































