पोखरा । भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये १६ जनाको मात्रै पहिचान खुलेको छ। बाँकी शवको सनाखत हुन नसक्दा स्थानीय प्रशासनले सुरक्षित रूपमा अन्तिम व्यवस्थापनको तयारी अघि बढाएको छ।


पहिचान खुल्न नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। त्यसका लागि तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको छ।


भदौ १० गतेको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट संकलन गरी पोखरा ल्याइएको थियो। आफन्तको पहिचान र पर्खाइबीच ८६ शवको व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ। स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ।