काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयबाट बाढीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ।

हुम्लाको ताजाकोट गाउँपालिका–२ का शर्मा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव गोरखातर्फको नदी तटीय क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्। बाढीपछि त्रिशूली नदीमा बगेका शव टाढाटाढासम्म पुगिरहेका बेला गोरखामा मात्रै ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।

टिमुरेमा हराएका शर्मा गोरखामा मृत भेटिनुले भोटेकोशी बाढीले बगाएको मानवीय क्षतिको फैलावट कति भयावह थियो भन्ने देखाएको छ। खोजी तथा शव संकलनको काम अझै जारी छ।