काठमाडौँ । भोटेकोसी बाढीमा ज्यान गुमाएका विदेशी नागरिकको शव परिवारसम्म पुर्‍याउन नेपालले पहिचानदेखि डीएनए परीक्षण र दूतावास समन्वयसम्मको प्रक्रिया तय गरेको छ।


पहिला शवको फोटो तथा व्यक्तिगत विवरण अभिलेख गरिनेछ भने पोस्टमार्टम, औँठाछाप, डीएनए वा रगतको नमूना संकलन गरिनेछ। पहिचान खुलेपछि सम्बन्धित देशको दूतावास र नेपाली अधिकारीबीच समन्वय गरेर शव परिवारलाई बुझाउने तथा सम्बन्धित देश पठाउने प्रक्रिया अघि बढाइनेछ।


शव पहिचान हुन नसकेमा आफन्तको डीएनए नमूनासँग मिलान गरिनेछ। आफन्तले रगतको नमूना दिएर वा इमेलमार्फत उपलब्ध गराएको डीएनए प्रोफाइलबाट समेत पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।


ठूलो संख्यामा शवबाट स्वास्थ्य जोखिम हुन सक्ने भएकाले पहिचान नखुलेका शवलाई अस्थायी रूपमा सुरक्षित संरक्षण वा व्यवस्थापन गरिनेछ। पछि डीएनए मिलानबाट पहिचान खुलेमा सम्बन्धित परिवारसम्म शव पुर्‍याउने प्रक्रिया अघि बढाइनेछ।