काठमाडौं / नेपालस्थित भारतीय दूतावासले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाइने प्रक्रिया सार्वजनिक गरेको छ।
दूतावासले मृतकका आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर र विवरणबाट शव पहिचान गर्न तथा आवश्यक परे डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासका अनुसार पहिचान भएका शव भारत पठाउन स्थानीय निकायसँग समन्वय गरिनेछ भने पहिचान हुन नसकेका वा अस्थायी रूपमा गाडिएका शवको डीएनए नमुना नेपाल सरकारले संकलन गरी प्रथम तहका आफन्तसँग मिलान गर्ने व्यवस्था गरिएको छ।
रसुवाको बाढीमा हालसम्म ९३९ जनाको मृत्यु, ३ हजार ९२५ जना बेपत्ता र ११ हजार ३७९ जनाको उद्धार भएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार हालसम्म १५८ भारतीय नागरिकलाई सुरक्षित उद्धार गरिएको छ।






































