नुवाकोट । भोटेकोशी बाढीको कहालीलाग्दो असर नुवाकोटको बेत्रावतीमा झन् भयावह रूपमा देखिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्रबाट मात्रै २४ वटा शव फेला परेका छन् ।

सोमबार खोजीका क्रममा ती शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या थपिन सक्ने देखिएको छ ।

एकै घरभित्र यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा आखिर के भएको थियो भन्ने प्रश्नले घटनालाई थप रहस्यमय र पीडादायी बनाएको छ । घरधनी को हुन्, त्यहाँ कति मानिस बसेका थिए र बाढी आउँदा उनीहरू किन त्यहीँ परे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उक्त संरचना होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यसको यकिन पुष्टि हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिसमेत सम्पर्कमा आउन नसकेका कारण घटनाको पूर्ण विवरण जुटाउन कठिन भइरहेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले बेत्रावतीसहित आसपासका क्षेत्रमा ठूलो मानवीय क्षति पुर्‍याएको छ । बाढीपछि दिनहुँ शव भेटिइरहेका छन् भने ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली भग्नावशेष, नदी किनार र प्रभावित संरचनामा खोजी गरिरहेका छन् । तर बाढीले बगाएको जीवनको हिसाब अझै पूरा भएको छैन—भग्नावशेषभित्र भेटिँदै गरेका शवले विपद्को वास्तविक पीडा दिनप्रतिदिन थप उजागर गरिरहेको छ ।