काठमाडौँ । भोटेकोशी बाढीले पुर्‍याएको क्षति र त्यसपछिको उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।

बैठकमा बाढीबाट भएको क्षतिको पछिल्लो अवस्था, अझै सम्पर्कविहीन रहेकाहरूको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा विस्थापितको पुनःस्थापनाबारे दलहरूबीच छलफल हुनेछ ।


भोटेकोशी विपद्पछि तत्कालीन राहतभन्दा पनि दीर्घकालीन व्यवस्थापन र आगामी दिनमा यस्ता विपद् रोकथाम तथा पूर्वतयारीलाई प्रभावकारी बनाउने विषयलाई दलहरूले प्राथमिकतामा राखेका छन् ।


यसअघि बसेको सर्वदलीय बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति गरेको थियो । आजको बैठकले उक्त संयन्त्र गठनको प्रक्रिया अघि बढाउने तथा विपद् व्यवस्थापनमा राजनीतिक दलहरूको साझा भूमिकाबारे थप निर्णय गर्ने अपेक्षा गरिएको छ ।