सुर्खेत । परिवारको भविष्य सुरक्षित बनाउने सपना बोकेर भारतको उत्तराखण्ड पुगेका कालिकोटका दुई नेपालीको त्यहीँ घर भत्किँदा ज्यान गएको छ। रोजगारीका लागि भारत गएका नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी अविरल वर्षापछि कच्ची घर भत्किँदा पुरिएर मृत्यु भएको हो। 

गएराति उनीहरू सुतिरहेको समयमा घर अचानक भत्किएको थियो। कमजोर संरचनाको घर वर्षाका कारण भत्किएपछि दुवै जना भग्नावशेषमा पुरिएका थिए।दुवै परिवारको अवस्था अहिले झन् पीडादायी बनेको छ। चक्रका तीन छोरा र श्रीमती छन् भने डिल्लीका एक छोरा, दुई छोरी र श्रीमती छन्। परिवारको खर्च धान्न र बालबालिकाको भविष्यका लागि उनीहरू रोजगारीको खोजीमा भारत पुगेका थिए।

तर परिवारका लागि कमाइको सहारा बनेर विदेशिएका उनीहरू काठको बाकसमा फर्किनुपर्ने अवस्थामा पुगेका छन्।स्थानीय जनप्रतिनिधिका अनुसार दुवै परिवारको आर्थिक अवस्था कमजोर छ। मृतकका बालबालिका समेत १६ वर्षभन्दा कम उमेरका छन्। परिवारको मुख्य आम्दानीको स्रोत गुमेपछि उनीहरूको भविष्यसमेत अन्योलमा परेको छ।

यतिबेला परिवारको एउटै चाहना छ-परदेशमै ज्यान गुमाएका आफ्ना सदस्यको शव स्वदेश ल्याएर आफ्नै माटोमा अन्त्येष्टि गर्ने। त्यसका लागि स्थानीय तहले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ।प्राकृतिक विपत्तिले परदेशमा रहेका नेपालीलाई समेत नछोडेको यो घटनाले रोजगारीका लागि विदेशिएका नेपालीको सुरक्षा र विपद्को समयमा उनीहरूको अवस्थाबारे राज्यको चासो कति आवश्यक छ भन्ने प्रश्न फेरि उठाएको छ।परिवारको भविष्य बनाउन परदेशिएका दुई युवा आफैं भने कहिल्यै नफर्किने गरी अस्ताएका छन् ।