काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि अहिले प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियान तीव्र पारिएको छ । विपद्को यो कठिन घडीमा नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, शव व्यवस्थापन र राहत वितरणमा सहजीकरण गर्न नेपाल प्रहरीले मात्रै झण्डै ८ हजार जनशक्ति परिचालन गरेको छ ।
मंगलबारसम्म ७ हजार ९ सय ९२ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन् । बाढीको प्रभाव हेर्दै विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयदेखि वागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्मका टोली प्रभावित क्षेत्रमा पुगेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी अस्पताल, प्रहरी शिक्षालयलगायतका युनिटबाट समेत जनशक्ति परिचालन गरिएको छ ।उद्धार अभियानलाई समन्वय गर्न प्रहरी प्रधान कार्यालयमा आपत्कालीन समन्वय केन्द्र स्थापना गरिएको छ । विपद्सँग सम्बन्धित सूचना, तथ्यांक र उद्धार गतिविधिलाई एकीकृत गर्न डीआईजीको नेतृत्वमा २४ घण्टा सञ्चालन हुने विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।
बाढीमा घाइते भएकाको उपचार र मृतकको पहिचान तथा परिवारसँग समन्वयका लागि अस्पतालहरूमा विशेष प्रहरी टोली परिचालन गरिएको छ । वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र त्रिभुवन शिक्षण अस्पतालमा प्रहरी खटिएका छन् ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देशी–विदेशी नागरिकका शव व्यवस्थापन तथा घाइतेको विवरण संकलनका लागि विशेष फोकल डेस्क स्थापना गरिएको छ ।तर उद्धारको चुनौती सहज छैन । कतिपय ठाउँमा सडक र सञ्चार सम्पर्क विच्छेद छ । कतिपय क्षेत्रमा पैदल पुग्नसमेत कठिन छ । त्यसैले प्रहरीले ड्रोनदेखि तालिमप्राप्त कुकुर र स्याटेलाइट फोनसम्मको प्रयोग गरेर खोजी अभियान अघि बढाएको छ ।
रसुवा, नुवाकोट र धादिङमा मात्रै १२ वटा ड्रोन परिचालन गरिएका छन् । पाँचवटा तालिमप्राप्त कुकुरबाट सम्भावित स्थानमा खोजी भइरहेको छ भने सञ्चार सम्पर्कविहीन क्षेत्रमा सातवटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ ।
शव पहिचान र घटनास्थल अनुसन्धानलाई पनि प्राथमिकता दिइएको छ । घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना र विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन् । आवश्यक परे डीएनए परीक्षणका लागि फरेन्सिक विज्ञको टोलीसमेत परिचालन गरिएको छ ।तर विपद्को पीडा यतिमै सीमित छैन । बाढीले अस्तव्यस्त बनाएको अवस्थाको फाइदा उठाउँदै चोरी, लुटपाट र ठगी गर्नेहरूमाथि पनि प्रहरीले निगरानी बढाएको छ ।
चितवनमा नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ ।धादिङमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर रकम निकालिएको घटनामा २९ जना नियन्त्रणमा परेका छन् । उनीहरूबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
यस्तै, बाढीपीडितका नाममा सामाजिक सञ्जालमा नक्कली पोस्ट बनाएर रकम उठाउन खोज्ने व्यक्तिसमेत पक्राउ परेका छन् ।बाढीले बगाएर ल्याएका सेफहरू भेटिने क्रम पनि जारी छ । बैरेनी, मलेखु तथा त्रिशूली नदी आसपासबाट भेटिएका सेफ तथा अन्य सामग्री प्रहरीले सुरक्षित राखेको छ ।
यता बाढीको बहाव पहाडबाट तराईतर्फ झर्दै गएकाले नदी आसपासका बस्तीमा समेत निगरानी बढाइएको छ । चितवनको नारायणी नदी आसपास मात्रै ७५७ जना प्रहरी परिचालन गरिएको छ ।
अर्थात्, अहिले प्रहरीको जिम्मेवारी उद्धारमा मात्रै सीमित छैन ।बेपत्ताको खोजी, शवको पहिचान, घाइतेको उपचारमा सहजीकरण, राहत व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद्को मौका छोपेर हुने अपराध नियन्त्रण-सबै मोर्चामा प्रहरी परिचालित छ । प्राकृतिक विपत्तिले दिएको पीडाबीच नागरिकको सुरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै नेपाल प्रहरीले प्रभावित क्षेत्रमा आफ्नो उपस्थिति थप मजबुत बनाएको जनाएको छ ।




































