काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल ९सिभिल अस्पताल०मा बिहानैदेखि ओपीडी टिकट लिन आउने बिरामी र आफन्तको लामो भीड लाग्ने गरेको छ।

अस्पतालमा बिहान करिब ५ बजेदेखि नै ओपीडी टिकट लिन बिरामीहरू लाइनमा बस्न पुग्ने गरेका छन्। टिकट लिनकै लागि घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको सेवाग्राहीहरूको गुनासो छ।

बिरामीको संख्या बढ्दै गए पनि टिकट व्यवस्थापन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन नसक्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको उनीहरूको भनाइ छ। विशेषगरी बिहानको समयमा अस्पताल परिसरमा बिरामी तथा आफन्तको भीड बाक्लो देखिने गरेको छ।

ओपीडी सेवा लिन आउनेमध्ये कतिपय बिरामीले लामो समय लाइनमा बस्नुपर्दा उपचार सुरु हुनुअघि नै थप समस्या झेल्नुपरेको बताएका छन्। टिकट वितरणलाई सहज र व्यवस्थित बनाउन सके सेवाग्राहीको समय बचत हुने उनीहरूको अपेक्षा छ।

सिभिल अस्पतालमा देखिएको यो दृश्य सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि निर्भर रहने नागरिकको ठूलो संख्या र सरकारी अस्पतालमाथि बढ्दो चापको प्रतिनिधि दृश्यका रूपमा देखिएको छ।

बिरामीको चापअनुसार टिकट वितरण प्रणाली, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।