काठमाडौं – नेकपा (एमाले) ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरप्रमुख पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले कीर्तिपुर नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा डा. मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो, जसको जानकारी काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले दिएका छन् ।

डा. मानन्धर एमालेका केन्द्रीय सदस्य पनि हुन्। नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले प्रदेश कमिटीमा अनुमोदनका लागि पठाउने छ, र अन्तिम निर्णय प्रदेश कमिटीले गर्नेछ । कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधनपछि रिक्त भएको पदका लागि उपनिर्वाचन मंसिर १६ गते हुनेछ ।