काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच दूरी बढेको चर्चा चलिरहेका बेला लामिछानेले सम्बन्ध बिग्रिएको कुरा अस्वीकार गरेका छन्। उल्टै आफूहरूबीच झगडा भएको समाचारले दुई नेताबीचको सम्बन्ध अझ नजिक बनाइरहेको उनको दाबी छ।
बुधबार पार्टीका सांसद र मन्त्रीहरूबीच भएको छलफलमा प्रधानमन्त्री शाह अनुपस्थित भएपछि राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका थिए। तर लामिछानेले उक्त कार्यक्रमलाई संसदीय दलको बैठक नै नभएको स्पष्ट पारे।
लामिछानेका अनुसार संसदीय दलको औपचारिक बैठक भए प्रधानमन्त्री शाह पनि सहभागी हुने थिए। बुधबार भने सांसद र मन्त्रीहरूबीच सामान्य छलफलका लागि मात्रै भेटघाट गरिएको उनको भनाइ छ।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेको ‘एक्लो’ महसुससम्बन्धी अभिव्यक्तिबारे समेत पत्रकारले प्रश्न गरेका थिए। त्यसको जवाफमा लामिछानेले शाहलाई कवि तथा कलाकारको रूपमा चित्रण गर्दै हरेक शब्दको राजनीतिक अर्थ खोज्न नहुने बताए।
‘प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो,’ भन्दै लामिछानेले पार्टी सिंगै प्रधानमन्त्रीको साथमा रहेको दाबी गरे। भिडमा रहेर पनि एक्लो महसुस गरेको अभिव्यक्तिलाई उनले राजनीतिक संकेतका रूपमा नबुझ्न आग्रह गरे।बालेन र रविबीच असन्तुष्टि रहेको चर्चालाई खण्डन गर्दै लामिछानेले मिडियामा आएको विवादले आफूहरूलाई झन् नजिक बनाएको व्यंग्यात्मक टिप्पणीसमेत गरे।
प्रधानमन्त्री बैठकमा नआउनु र ‘एक्लो’ अभिव्यक्ति सार्वजनिक हुनुलाई लिएर रास्वपाभित्रको समीकरणबारे प्रश्न उठिरहेका बेला लामिछानेको यो स्पष्टीकरणले तत्कालका लागि विवाद साम्य पार्ने प्रयास गरेको देखिन्छ। तर सरकार र पार्टी सञ्चालनमा बालेन–रवि सम्बन्धको वास्तविक अवस्था भने आगामी राजनीतिक निर्णय र गतिविधिले देखाउनेछ।




































