बारा । सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या प्रकरणले नयाँ मोड लिएको छ। बालिका हराएपछि प्रहरीसँगै खोजीमा सक्रिय देखिएका युवक नै हत्याको आरोपमा पक्राउ परेका छन्।
जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी गरिमा आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्। दुई दिनको खोजीपछि मंगलबार साँझ घरबाट करिब २०० मिटर टाढाको खाली घरमा कपडामा पोको पारिएको अवस्थामा उनको शव फेला परेको थियो।
शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनास्थलमै रहेका जीतपुरसिमरा–२ का सुमन थापामाथि शंका भएपछि प्रहरीले उनलाई त्यहीँबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार थापाले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। उनी वीरगञ्ज–पथलैया रुटमा चल्ने म्याजिक भ्यानका सहचालक हुन्। अनुसन्धानकै क्रममा उनले काम गर्ने गाडीका चालक प्रोग्रेस चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ। यद्यपि घटनामा आफ्नो मात्रै संलग्नता रहेको थापाले बयान दिएको प्रहरीले जनाएको छ।
प्रहरी अनुसन्धानमा बालिका बेपत्ता भएको दिन थापा चालक चौधरीको घरबाट बालिकालाई लिएर गएको र पछि घटनास्थलमा पुगेको खुलेको बताइएको छ। घटनापछि शव लुकाएर उनी पुनः सामान्य गतिविधिमै रहेको प्रहरीको भनाइ छ।
घटनाले स्थानीयलाई आक्रोशित बनाएपछि बुधबार सिमरामा प्रदर्शन भएको छ। इलाका प्रहरी कार्यालय सिमराअघि भेला भएका स्थानीयले दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरेका छन्। प्रदर्शनका क्रममा वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध भएको छ। बालिकाको परिवार शोकमा डुबेको छ भने घटनाको थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ।
तीन वर्षीया बालिकाको हत्या र त्यसपछि भएको अनुसन्धानमा देखिएको यो घटनाक्रमले स्थानीय बस्तीको सुरक्षा र बालबालिकाको संरक्षणमाथि समेत गम्भीर प्रश्न उठाएको छ।





































