झापा / झापाको बिर्तामोड नगरपालिका–६ स्यालडाँगीबाट प्रहरीले ५२८ ग्राम गाँजासहित एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–६ निवासी ३६ वर्षीया गीता महतो रहेकी छन्। उनको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बुधबार राति प्रहरीले छापा मारेको थियो। इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले राति करिब ८ः५० बजे घर तलासी गर्दा कोठाभित्र लुकाइराखिएको गाँजाजस्तो पदार्थ बरामद गरेको थियो।

बरामद पदार्थको डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ६०९ ग्राम र प्लास्टिकबाहेक ५२८ ग्राम रहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।