झापा / झापाको कमल गाउँपालिका–५ चोलुङटोलबाट प्रहरीले ११ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले इलामको चुलाचुली गाउँपालिका–३ पेल्टिमारीबाट कमलतर्फ आउँदै गरेको मे।११ प ८१७७ नम्बरको मोटरसाइकल रोकी तलासी गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा चुलाचुली गाउँपालिका–३ का २४ वर्षीय निराज तामाङ, २० वर्षीय दिवान आड्ढेपा र ३१ वर्षीय कमल तामाङ रहेका छन्। बरामद पदार्थको प्रारम्भिक तौल ११ ग्राम १५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
प्रहरीले पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।






































