काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूको संसदीय भूमिका, प्रस्तुति र कार्यशैलीलाई थप अनुशासित र व्यवस्थित बनाउने तयारी थालेको छ। बुधबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको नेतृत्वमा सातदिने विधान संशोधन कार्यदल गठन गरेको हो।
कार्यदलले सांसदको उपस्थिति, संसदीय मर्यादा, जनताका मुद्दा उठाउने शैली र कानुन निर्माणमा प्रभावकारी भूमिकालाई स्पष्ट गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गर्नेछ।
पार्टी सभापति रवि लामिछानेले यसअघि सांसद तथा मन्त्रीहरूसँग संसदीय शैली र मर्यादाबारे छलफल गरेका थिए। त्यसकै निरन्तरतास्वरूप अब सांसदको जिम्मेवारी र जवाफदेहितालाई विधानमै बाँध्ने तयारी गरिएको हो।
रास्वपाले संसदमा केवल विरोध र आवाज उठाउनेभन्दा पनि कानुन निर्माण तथा जनताका मुद्दामा परिणाममुखी भूमिका निर्वाह गर्ने गरी संसदीय अभ्यासलाई व्यवस्थित गर्न खोजेको छ। अब सात दिनपछि आउने संशोधन प्रस्तावले सांसदको अनुशासन, उपस्थिति र भूमिकाबारे कस्ता नयाँ व्यवस्था ल्याउँछ भन्ने चासोको विषय बनेको छ।




































