काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सरकारको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ बैठकबाट बाहिरिएकी छन्। परराष्ट्रमन्त्री शिशिर खनालले धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा दिएको जवाफ चित्त नबुझेपछि उनले तत्कालै प्रश्न गर्न खोजेकी थिइन्।
मन्त्री खनालले जवाफ दिइरहेका बेला तामाङ आफ्नो स्थानबाट उठेर प्रतिप्रश्न गर्न खोजेकी थिइन्। तर सभामुखले उनलाई बोल्ने समय नदिएको भन्दै बस्न निर्देशन दिए।
सभामुखको निर्देशनपछि पनि तामाङले आफूले प्रश्न राख्न पाउनुपर्ने अडान दोहो¥याइन्। बैठकमा आफ्नो कुरा राख्न खोजिरहेपछि सभामुखले उनलाई संसद्को मर्यादा कायम राख्न निर्देशन दिएका थिए।सभामुखको निर्देशनपछि भने तामाङ झोला बोकेर बैठकबाट बाहिरिइन्। उनको बहिर्गमनसँगै बैठकको वातावरण केहीबेर असहज बनेको थियो।
तामाङले कम्बोडियामा ३७ दिनअघि मृत्यु भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गरेको पहल र प्रगतिबारे सरकारसँग जवाफ माग्दै आएकी थिइन्। यही विषयमा उनले संसदमा आवाज उठाएपछि सभामुखले अघिल्लो दिन सरकारलाई जवाफ दिन रुलिङ गरेका थिए।
सभामुखको रुलिङअनुसार परराष्ट्रमन्त्री खनालले आज संसदमा सरकारको धारणा राखेका थिए। तर मन्त्रीको जवाफले आफ्नो प्रश्नको चित्तबुझ्दो सम्बोधन नगरेको भन्दै तामाङले तत्कालै प्रतिक्रिया दिन खोज्दा विवादको अवस्था सिर्जना भयो।यो घटनाले संसदमा सांसदले सरकारको जवाफमाथि तत्कालै प्रतिप्रश्न गर्न पाउने अधिकार र सभामुखले बैठकको कार्यतालिका तथा मर्यादा कायम राख्ने भूमिकाबीचको तनावसमेत देखाएको छ।
मृतकको शव स्वदेश ल्याउने संवेदनशील विषयमा सरकारको जवाफ माग्दै आएकी सांसदले मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाएर बैठक नै छाडेपछि घटनाले राजनीतिकभन्दा मानवीय चासोको विषयलाई समेत जोडेको छ। अब सरकारले सन्तोष राईको शव नेपाल ल्याउने विषयमा के ठोस पहल गर्छ भन्ने विषयमा थप चासो देखिएको छ।






































