काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब राजनीतिक बहसको चरणबाट औपचारिक निर्वाचन प्रक्रियामा प्रवेश गरेको छ। सभापति गगन थापाले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशन कुनै हालतमा निर्धारित कार्यतालिकाबाट पछि नहट्ने संकेत गर्दै आजदेखि अधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु भएको घोषणा गरेका छन्।
सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै थापाले पार्टी अहिले संविधान, विधान, विशेष महाधिवेशनको निर्णय र अदालतको आदेशबाट समेत निर्धारित समयभित्र महाधिवेशन गर्न बाँधिएको बताए।
उनका अनुसार अब कांग्रेससँग समय थप्दै जाने सुविधा छैन। त्यसैले निर्वाचन समितिले तयार गर्ने कार्यतालिकालाई सबै तहका नेता–कार्यकर्ताले पालना गर्नुपर्नेछ। थापाले भने, ‘हामीसँग अब समयको सुविधा छैन।’ असोज १६ गतेबाट महाधिवेशन सुरु हुने आधार अदालतको फैसलामै समेत रहेको उल्लेख गर्दै उनले तोकिएको समयमै प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे।
महाधिवेशनअघि वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला तहका अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले कांग्रेसको संगठन अहिले तीव्र निर्वाचन तयारीमा जुट्ने भएको छ। निर्वाचन समितिले कुन तहको अधिवेशन कहिले र कसरी गर्ने भन्ने विस्तृत कार्यतालिका अघि बढाउनेछ।
यसपटक कांग्रेसको करिब आठ लाख क्रियाशील सदस्यताको विवरण डिजिटल रूपमा अद्यावधिक गरिएको भन्दै थापाले विगतको तुलनामा निर्वाचन प्रक्रिया सहज हुने दाबी गरेका छन्। सदस्यतासम्बन्धी विवाद पनि समाधान भइसकेको र महामन्त्री प्रदीप पौडेल नेतृत्वको समितिले टुंग्याएको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गरिने उनले बताए।
तर महाधिवेशनको तयारीसँगै पार्टीभित्रको असन्तुष्टि भने पूर्ण रूपमा समाप्त भएको छैन। संस्थापनइतर समूहका कतिपय नेताहरूले विभिन्न विषयमा असन्तुष्टि जनाइरहेको स्वीकार गर्दै थापाले उनीहरूसँग आफू निरन्तर संवादमा रहेको बताए।
थापाले राजनीतिक मतभेद र संवाद जारी रहे पनि त्यसकै नाममा महाधिवेशन प्रक्रिया रोक्न नसकिने संकेत गरेका छन्। उनका अनुसार पार्टीभित्रका असहमति राजनीतिक रूपमा छलफलबाट समाधान गर्दै निर्वाचनको काम भने समानान्तर रूपमा अघि बढाउनुपर्नेछ।
महाधिवेशनलाई विवादरहित बनाउन निर्वाचन प्रक्रियामा प्रश्न नउठ्ने गरी काम गर्ने थापाको प्रतिबद्धता छ। समितिहरूको गठनदेखि निर्वाचन प्रक्रियासम्म पारदर्शिता कायम गर्न आफू खुला छलफलका लागि तयार रहेको उनले बताए। कांग्रेसभित्र नेतृत्व चयनका लागि हुने महाधिवेशन नजिकिँदै गर्दा अब शक्ति समीकरण, प्रतिनिधि व्यवस्थापन र तल्लो तहको अधिवेशनले नयाँ राजनीतिक रूप लिने देखिएको छ।






































