धनगढी । विभाजित अवस्थामा रहेका कम्युनिस्ट शक्तिलाई एउटै राजनीतिक धारमा ल्याउन दबाब बढाउने उद्देश्यले धनगढीमा भोलि वामपन्थी दलका नेताहरू एउटै मञ्चमा उत्रिने भएका छन्। पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्ने विचार गोष्ठीमा नेकपा, एमाले, राष्ट्रिय जनमोर्चा र नेकपा संयुक्तलगायत दलका नेताहरू सहभागी हुँदैछन्।

धनगढीस्थित उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो १२ बजे हुने कार्यक्रममा नेकपाका नेता नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रमलाई आगामी निर्वाचन र कम्युनिस्ट आन्दोलनको भविष्यका विषयमा वामपन्थी दलहरूबीच संवाद बढाउने प्रयासका रूपमा हेरिएको छ।

‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयमा हुने छलफलमा नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, राष्ट्रिय जनमोर्चाका नन्दराज भट्ट तथा नेकपा संयुक्तका नेता उर्वादत्त पन्तलगायतले धारणा राख्नेछन्।

पुष्पलाल मित्रता केन्द्रका अनुसार कार्यक्रमको उद्देश्य तत्काल पार्टी एकता घोषणा गर्नु नभई पहिले सहकार्यको सम्भावना खोज्नु हो। केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा वामपन्थी शक्तिको प्रभाव कायम राख्नसमेत एकताको बहस आवश्यक रहेको बताएका छन्।

पछिल्लो समय देशका विभिन्न शहरमा आयोजना भइरहेको विचार गोष्ठीलाई वामपन्थी एकताको वातावरण बनाउने अभियानका रूपमा अघि बढाइएको छ। काठमाडौंमा सुरु भएको अभियान पोखरा हुँदै विभिन्न प्रदेशमा विस्तार भइरहेको छ।

यसक्रममा काठमाडौंमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्यक्रम भइसकेको छ भने कर्णालीमा देव गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। अब धनगढीपछि जनकपुरमा माधवकुमार नेपाल र इटहरीमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम गर्ने तयारी छ। अभियानको समापन पोखरामा हुने बताइएको छ।

 वाम एकताको बहस चर्किँदै जाँदा नेकपा र एमालेबीच सहकार्यको वातावरण बनाउने प्रयाससमेत भइरहेको आयोजकको दाबी छ।नेताहरूले निर्वाचनमा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्दा वामपन्थी मत विभाजित हुने र त्यसको राजनीतिक लाभ अन्य शक्तिले लिन सक्ने तर्क गर्दै आएका छन्।

तर वामपन्थी शक्तिहरूबीच एकताको बहस नयाँ होइन। विगतमा पटक-पटक एकता र सहकार्यको प्रयास भए पनि नेतृत्व, नीति, संगठन र शक्ति बाँडफाँटको विषयमा मतभेद हुँदा ती प्रयास दीर्घकालीन बन्न सकेका छैनन्।

त्यसैले धनगढीको मञ्चमा उठ्ने बहस केवल ‘वाम एकता चाहिन्छ’ भन्ने नारामा सीमित हुन्छ कि आगामी निर्वाचनलाई केन्द्रमा राखेर ठोस सहकार्यको खाका अघि बढ्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।