काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला संग्रौलाको राजनीतिक टिप्पणीपछि संसदमा एकाएक तनावको अवस्था सिर्जना भएको छ। उनले विगतका ३५ वर्षको शासनलाई लक्षित गर्दै गरेको अभिव्यक्तिप्रति विपक्षी बेञ्चका सांसदहरूले आपत्ति जनाउँदै उठेर विरोध गरेका हुन्।

संसदमा बोल्दै संग्रौलाले वर्तमान सरकार भ्रष्टाचार, बेथिति, अनियमितता र ‘गुन्डाराज’ अन्त्य गर्ने उद्देश्यसहित अघि बढेको दाबी गरिन्। उनले विगतको राजनीतिक व्यवस्थापन र शासनशैलीमाथि कडा प्रश्न उठाउँदै त्यसकै परिणामस्वरूप गत भदौमा जेनजी आन्दोलन भएको दाबी गरिन्।

उनले विगतका सरकारले चलाएको गोलीका कारण सिंहदरबार अगाडि जेनजी युवाको ज्यान गएको प्रसंगसमेत उठाइन्। ती घटनामा बगेको रगत अझै नसुकेको भन्दै उनले पुरानो राजनीतिक नेतृत्वप्रति आक्रोश व्यक्त गरिन्।

संग्रौलाको अभिव्यक्ति सकिन नपाउँदै विपक्षी बेञ्चमा रहेका सांसदहरू उठेर विरोध जनाए। संसदमा असन्तुष्टि देखिएपछि बैठकको वातावरण केहीबेर तनावपूर्ण बनेको थियो।

संग्रौलाको अभिव्यक्तिले संसदमा पुरानो राजनीतिक नेतृत्व र नयाँ राजनीतिक शक्तिबीचको आरोप–प्रत्यारोप फेरि सतहमा ल्याएको छ। नयाँ पुस्ताको आन्दोलनलाई विगतको शासनसँग जोड्दै आरएसपी सांसदले दिएको अभिव्यक्तिले विपक्षी दलका सांसदलाई प्रत्यक्ष रूपमा आक्रोशित बनाएको देखिएको छ।

संसदमा उठेको विवाद केवल एक सांसदको अभिव्यक्तिमा सीमित नभई विगतको शासन, जेनजी आन्दोलन र त्यसक्रममा भएका घटनाको राजनीतिक जिम्मेवारी कसले लिने भन्ने बहसतर्फ समेत धकेलिएको छ।

संग्रौलाको अभिव्यक्तिपछि विपक्षी सांसदहरू उठेर विरोध गर्नुले प्रतिनिधि सभाभित्र सरकारको बचाउ गर्ने नयाँ राजनीतिक शक्ति र विगतका सत्तारूढ दलबीचको राजनीतिक टकराव अझ तीव्र हुँदै गएको संकेत गरेको छ।