विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा सहभागी भएसँगै गरिएको मन्त्रालय बाँडफाँटले सरकारभित्रै असन्तुष्टि देखिएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रालय हेरफेर गरेपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका एमालेका मन्त्री इन्द्रमणि पराजुलीले तत्काल जिम्मेवारी सम्हाल्न आनाकानी गरेका छन्।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिरहेका पराजुलीको मन्त्रालय नेकपाको भागमा परेपछि उनलाई स्वास्थ्य मन्त्रालयमा सारिएको हो। उनको स्थानमा गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाइएको छ।
तर आफूलाई कुनै जानकारी नदिई मन्त्रालय परिवर्तन गरिएको भन्दै पराजुली असन्तुष्ट छन्। नयाँ जिम्मेवारी पाएका अन्य मन्त्रीले मन्त्रालय पुगेर काम सुरु गरिसक्दा पराजुली भने शपथपछि पनि स्वास्थ्य मन्त्रालय पुगेका छैनन्। शपथ ग्रहण कार्यक्रममा समेत उनी ढिला पुगेका थिए।
पराजुलीको असन्तुष्टि मन्त्रालय परिवर्तनमा मात्र सीमित देखिँदैन। सरकारमा आफ्नो वरीयता तल पारिएको विषयमा समेत उनले असन्तुष्टि जनाएका छन्। आफूलाई नसोधी जिम्मेवारी हेरफेर गरिएको भन्दै उनले निर्णयप्रति अप्रत्यक्ष रूपमा असहमति जनाएका हुन्।
यद्यपि पराजुलीले आफूले व्यक्तिगत रूपमा विरोध नगरेको दाबी गरेका छन्। उनले आफू मन्त्री र प्रदेश सांसद पार्टीकै निर्णयबाट बनेकाले मन्त्रालय जाने–नजाने विषयमा पनि पार्टीसँग छलफल गरेर अघि बढ्ने बताएका छन्।
‘पार्टीसँग सल्लाह गरेर मात्रै मन्त्रालय जान्छु, पार्टीले जा भने जाने हो, नजा भने नजाने हो,’ पराजुलीको भनाइ छ। उनले भोलिसम्ममा सबै विषय टुंगिने अपेक्षा पनि व्यक्त गरेका छन्।
उता स्वास्थ्य मन्त्रालयको भौतिक संरचना पनि तत्काल जिम्मेवारी सम्हाल्न सहज हुने अवस्थामा छैन। मन्त्रालय केही समयअघि भाडाको भवनमा सारिए पनि कार्यालय व्यवस्थापनको काम पूर्ण रूपमा नसकिएको बताइएको छ। पराजुलीले आफू मन्त्रालय नजानुको कारण यही व्यवस्थापन पक्षलाई पनि देखाएका छन्।
तर यसको राजनीतिक पृष्ठभूमि भने थप रोचक छ। यसअघि मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाउने प्रयासमा पराजुली सक्रिय समूहमा थिए। त्यसक्रममा कार्की र पराजुलीबीच सम्बन्ध चिसिएको बताइन्छ। अहिले सत्ता समीकरण फेरिएर कार्की नेतृत्वकै सरकारमा नेकपा प्रवेश गरेपछि पराजुलीको मन्त्रालय परिवर्तन भएको हो।
यसले कोशी सरकारभित्र मन्त्रालय भागबन्डासँगै पुरानो राजनीतिक असन्तुष्टि पनि फेरि सतहमा आएको संकेत गरेको छ। नेकपालाई सरकारमा सहभागी गराउने क्रममा भएको मन्त्रालय पुनर्वितरणले एमालेभित्रै केही असन्तुष्टि जन्माएको देखिन्छ।
अब पराजुली पार्टी नेतृत्वसँगको छलफलपछि नयाँ जिम्मेवारी सम्हाल्छन् वा मन्त्रालय हेरफेरकै विषयले सरकारभित्र थप विवाद जन्माउँछ भन्ने चासो बढेको छ। सत्ता समीकरण मिलाउन गरिएको मन्त्रालय पुनर्संरचनाले कोशी सरकारभित्रै नयाँ समीकरणको संकेत देखाएको छ।






































