काठमाडौं । नेकपाका सांसद वर्षमान पुनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारमाथि जनताका दैनिक समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै आफ्नै मन्त्रीहरूलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
पुनको मुख्य निशाना जनताको दैनिक जीवनसँग जोडिएका समस्यातर्फ थियो। ग्यास, मल, खानेपानी र राहदानी बनाउनसम्म सर्वसाधारणले लाइन बस्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै उनले सरकार परिवर्तन भए पनि नागरिकको सास्ती नघटेको टिप्पणी गरे।
उनले नयाँ राजनीतिक शक्तिले विगतका दशकमा देखिएको ‘लाइनको राजनीति’ अन्त्य गर्ने दाबी गरेको स्मरण गराउँदै सरकारलाई उल्टै नयाँ–नयाँ लाइन थपिएको भन्दै व्यंग्य गरे।
‘विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो, आज त झन् थप लाइनहरू छन्,’ पुनले भने, ‘ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन। जनताले कतिवटा लाइन लाग्नुपर्ने हो ? नयाँ भनेको लाइन थप्ने हो ?’
पुनले सरकारको प्रशासनिक व्यवस्थापनप्रति समेत प्रश्न उठाए। विशेषगरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भइरहेको भन्दै उनले विपद् व्यवस्थापन र देशभरको सुरक्षा अवस्थाबारे संसदमा आएर जवाफ दिनुपर्ने बताए।
उनका अनुसार जनप्रतिनिधि आफ्नो क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिलेको अवस्थामा गृह मन्त्रालयले देशभर भइरहेका विपद् र नागरिकका समस्याबारे सदनलाई जानकारी गराउनु अझ महत्वपूर्ण छ।
‘आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्,’ भन्दै पुनले प्रधानमन्त्रीलाई मन्त्रीहरूको गतिविधि र प्राथमिकतामाथि निगरानी बढाउन आग्रह गरे।
सरकारमाथि बढ्दो जनअपेक्षाबीच संसदमा उठेको यो प्रश्नले नयाँ नेतृत्वसँग जोडिएको ‘परिवर्तनको वाचा’ र नागरिकले भोगिरहेको वास्तविकताबीचको अन्तरलाई उजागर गरेको छ। ग्यासदेखि मल र पासपोर्टसम्मका सेवामा देखिएको भीड र अभाव तत्काल समाधान गर्न नसके सरकारको सुशासनको दाबीमाथि प्रश्न उठ्ने पुनको तर्क छ।
संसदमा पुनको अभिव्यक्ति सरकारका लागि राजनीतिक आलोचनामात्र नभई सेवा प्रवाह सुधार्नुपर्ने दबाबका रूपमा आएको छ। अब सरकारले नागरिकले भोगिरहेका यी समस्यालाई कसरी सम्बोधन गर्छ भन्ने विषयले सरकारको कार्यसम्पादनप्रतिको जनधारणा निर्धारण गर्ने देखिन्छ।






































