काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भइरहेको आरोप लगाउँदै प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने माग दोहो¥याएका हुन्।
सभामुखले सरकारलाई संसद्प्रति जवाफदेही बन्न निर्देशन दिएपछि आफू आशावादी बनेको साम्पाङले बताए। अब प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको दफावार जवाफ दिनुपर्ने उनको माग छ।
साम्पाङले आफूहरूले व्यक्तिगत प्रश्न नभई जनताका समस्या संसदमा उठाइरहेको स्पष्ट पारे। सीमा सुरक्षादेखि नागरिकको दैनिक जीवनसँग जोडिएका विषयसम्म सरकारका विभिन्न निकायले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको उनको आरोप थियो।
उनले प्रधानमन्त्रीमाथि सीमा रक्षा गर्न नसकेको प्रश्न उठाउँदै गृह मन्त्रालयको भूमिकामाथि समेत प्रश्न गरे। गृहमन्त्रीले सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्न नसकेको, आपूर्ति मन्त्रालयले ग्यास र मलको सहज व्यवस्था गर्न नसकेको उनको दाबी थियो।
त्यस्तै श्रम तथा रोजगार मन्त्रालयले रोजगारी सिर्जना गर्न नसकेको, अर्थ मन्त्रालयले बजार चलायमान बनाउन तथा राहत दिन नसकेको र महँगी नियन्त्रणमा समेत सरकार प्रभावकारी बन्न नसकेको साम्पाङको आरोप छ।
सहकारी पीडितको रकम फिर्ताको विषय उठाउँदै उनले सरकारको जवाफदेहितामाथि थप प्रश्न गरे। जनताले राज्यबाट समाधान खोजिरहेका विषयमा प्रधानमन्त्रीदेखि सम्बन्धित मन्त्रीसम्मले जिम्मेवारीअनुसार परिणाम दिन नसकेको उनको भनाइ थियो।
साम्पाङको अभिव्यक्तिले संसदमा सरकारको ‘डेलिभरी’ माथिको बहसलाई थप तीव्र बनाएको छ। नयाँ सरकारसँग नागरिकले अपेक्षा गरेको सेवा, सुरक्षा, रोजगारी र आपूर्तिको क्षेत्रमा समस्या कायमै रहेको भन्दै उनले सरकारलाई संसदमार्फत जवाफ दिन बाध्य बनाउनुपर्ने संकेत गरेका छन्।
सभामुखको रुलिङपछि प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिने अपेक्षा व्यक्त गर्दै साम्पाङले सरकारको वास्तविक परीक्षा अब संसदमै हुने सन्देश दिएका छन्। उनका अनुसार जनताका प्रश्नको जवाफ भाषणले होइन, ग्यास, मल, रोजगारी, सुरक्षा, महँगी र सहकारी पीडितको समस्यामा देखिने परिणामले दिनुपर्नेछ।






































