काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै तथा परीक्षा चलिरहेकै बेला बाहिरिएको घटनाले अब कानुनी रूप लिएको छ। प्रश्नपत्र चुहावटमा संलग्न रहेको आरोपमा शिक्षक र विद्यार्थीसहित सात जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा अभियोगपत्र दायर गरेको हो। घटनाको अनुसन्धानले प्रश्नपत्र बाहिरिनुमा केवल बाह्य व्यक्तिको भूमिका नभई परीक्षा हलभित्र रहेका विद्यार्थीसमेत संलग्न रहेको देखाएको छ। प्रकरणमा मुख्य अभियुक्तका रूपमा भक्तपुरको मध्यपुर थिमिका ३३ वर्षीय शिक्षक सन्दीप सिंहलाई अघि सारिएको छ। उनी बागबजारस्थित केएमसी कलेज र कोटेश्वरस्थित हिमालय कलेजमा वित्त विषय अध्यापन गराउँदै आएका थिए।
प्रहरी अनुसन्धानअनुसार सिंहले ‘सुलभ सर’ नामबाट ह्वाट्सएप समूह सञ्चालन गर्दै करिब एक हजार विद्यार्थीलाई जोडेको पाइएको छ। यही नेटवर्कमार्फत प्रश्नपत्र र त्यसका समाधानसमेत विद्यार्थीहरूमाझ पु¥याउने गरेको अनुसन्धानबाट खुलेको सरकारी पक्षको दाबी छ। घटनाको अर्को चकित पार्ने पक्ष परीक्षा हलभित्रैबाट प्रश्नपत्र बाहिरिनु हो। अभियुक्तमध्येका विद्यार्थी अब्दुल सानी हाकिमले प्रहरीसमक्ष दिएको बयानमा परीक्षा हलमा बसेकै अवस्थामा प्रश्नपत्रको फोटो खिचेर ह्वाट्सएप समूहमा पठाएको स्वीकार गरेका छन्।
एमबीएस प्रथम सेमेस्टरअन्तर्गत साउन ६ गते सञ्चालन भएको ‘म्यानेजमेन्ट–५’ र साउन ८ गते भएको ‘स्टाटिस्टिकल मेथड्स’को प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जाल र ह्वाट्सएप समूहमा फैलिएको थियो। ‘टीयू स्टुडेन्ट’ नामको फेसबुक समूह तथा विभिन्न ह्वाट्सएप समूहमा प्रश्नपत्रका तस्बिरसँगै उत्तरसमेत शेयर भएको अनुसन्धानबाट खुलेको छ। यसले प्रश्नपत्र चुहावट सामान्य रूपमा कागज बाहिरिएको घटना नभई डिजिटल माध्यमबाट तीव्र गतिमा फैलाइएको योजनाबद्ध गतिविधि हुन सक्ने देखाएको छ। प्रहरीले सिंहको ल्यापटप र मोबाइल परीक्षण गर्दा प्रश्नपत्रका फोटो, पीडीएफ फाइल तथा ह्वाट्सएप च्याटको विवरण फेला पारेको जनाएको छ। च्याटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको र विद्यार्थीहरूले त्यसको समाधानसमेत मागेको प्रमाण अनुसन्धानका क्रममा भेटिएको छ। यस घटनामा सिंहसँगै विद्यार्थीहरू अतुल कुमार मिश्र, अब्दुल सानी हाकिम, ऋषिकेश प्रसाद यादव, खुश्बु गिरी, देवनाथ महतो र रन्जु कुमारी गिरीलाई प्रतिवादी बनाइएको छ। उनीहरूमध्ये केही फरार रहेको बताइएको छ।
त्रिवि व्यवस्थापन संकायले दिएको उजुरीपछि नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको क्रममा शिक्षकले अनलाइन तयारी कक्षा सञ्चालन गर्ने र विद्यार्थीलाई नोट उपलब्ध गराउने कामसमेत गर्दै आएको खुलेको छ। प्रश्नपत्र चुहावटको यो घटनाले त्रिविको परीक्षा प्रणालीको सुरक्षा र डिजिटल माध्यमबाट हुने शैक्षिक अपराधमाथि गम्भीर प्रश्न उठाएको छ। परीक्षा हलमा बसेका विद्यार्थीबाटै प्रश्नपत्र बाहिरिनु र केही मिनेटमै ठूलो संख्यामा विद्यार्थीमाझ फैलिनुले परीक्षा प्रणालीभित्रको सुरक्षा कमजोरीसमेत उजागर गरेको छ।
अब अदालतमा दायर भएको मुद्दाले प्रश्नपत्र कहाँबाट प्राप्त भयो, कसरी डिजिटल समूहमा पुग्यो र त्यसबाट कसले लाभ लिए भन्ने विषयलाई कानुनी रूपमा टुंगो लगाउनेछ।






































