काठमाडौं । अमेरिका–इरान युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास फेरि संकटमा परेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूले चाहेजस्तो सम्झौता नगर्ने दाबी गर्दै तेहरानलाई आत्मसमर्पण गर्न दबाब दिएका छन्। यही क्रममा उनले इरानसँग वार्तामा मध्यस्थता गरिरहेको ओमानमाथि समेत सैन्य कारबाहीको चेतावनी दिएका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट रोक्नु रहेको दोहो¥याए। उनका अनुसार इरानले स्वीकार गर्नुपर्ने सम्झौताको स्वरूपमा सहमत हुने सम्भावना आफूले देखेका छैनन्।

यससँगै जुनमा अमेरिका र इरानबीच भएको अन्तरिम समझदारीको ६० दिने समयसीमा पनि सकिएको छ। उक्त समझदारीले युद्ध अन्त्य, स्ट्रेट अफ हर्मुजमा आवागमन सहज बनाउने तथा इरानको आणविक कार्यक्रमसहितका विषयमा विस्तृत सम्झौताको बाटो खोल्ने लक्ष्य राखेको थियो। तर निर्धारित समयसीमा सकिँदासम्म ठोस सहमति बन्न सकेन। अब विवादको केन्द्रमा इरानको आणविक कार्यक्रमसँगै स्ट्रेट अफ हर्मुज पनि पुगेको छ। विश्वको तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा ओसार्ने यो समुद्री मार्गमा लामो समयदेखि सामान्य व्यापारिक आवागमन प्रभावित छ। यसको असर इन्धन बजारमा समेत देखिन थालेको छ।

यही अवस्थामा इरान र ओमानबीच हर्मुजबाट व्यावसायिक जहाज सञ्चालन सहज बनाउने विषयमा वार्ता भइरहेको छ। ओमानले इरानसँग छुट्टै समझदारी बनाउन खोजेपछि ट्रम्प त्यसप्रति असन्तुष्ट देखिएका हुन्। फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले ओमानले अमेरिकी प्रयासमा अवरोध गरे सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। पछि पत्रकारहरूले ओमानप्रति आफ्नो धैर्य सकिएको हो कि भनेर सोध्दा उनले ओमानले राम्रो व्यवहार नगरेको टिप्पणी गर्दै अमेरिकाले त्यसलाई पनि ‘सजिलै सम्हाल्न सक्ने’ बताएका थिए।

यसले इरानसँगको युद्धमा कूटनीतिक समाधान खोज्ने प्रयास थप जटिल बनाएको छ। एकातिर ट्रम्प इरानलाई आत्मसमर्पणको दबाब दिइरहेका छन् भने अर्कोतर्फ क्षेत्रीय मध्यस्थकर्ता ओमानसँग समेत तनाव बढेको छ। स्ट्रेट अफ हर्मुजमा आवागमन सामान्य नहुँदा विश्व बजारमा तेल आपूर्तिको चिन्ता बढेको छ। पछिल्लो समय तेलको मूल्यसमेत बढेको रिपोर्ट आएको छ, जसले युद्धको असर मध्यपूर्वबाट विश्व अर्थतन्त्रसम्म फैलिन सक्ने जोखिम बढाएको छ। यसरी हेर्दा अहिलेको संकट केवल अमेरिका र इरानबीचको आणविक विवादमा सीमित छैन।