ताप्लेजुङ / ताप्लेजुङमा एक समय नगदेबालीका रूपमा परिचित बहुउपयोगी जडीबुटी चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ।
बजार मूल्यमा हुने उतारचढाव, उत्पादन लागत वृद्धि, वन फँडानीसम्बन्धी कडाइ, श्रमिक अभाव र युवाको वैदेशिक पलायनका कारण किसानले चिराइतो खेती छाडेर अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षित हुन थालेका छन्।मिक्वाखोला गाउँपालिका–५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे पनि यस वर्ष करिब तीन मन मात्रै संकलन गरेका छन्। लामो समयदेखि चिराइतो खेती गर्दै आएका उनी अहिले खेती छाडेर काठमाडौं बसाइँ सरेका छन्।
सिम्बुक गाउँका २८ वर्षीय पाण्डे शेर्पाले पनि वन फँडानीमा कडाइ, बजारको अनिश्चितता र गाउँमा श्रमिक अभावका कारण चिराइतो खेती त्यागेको बताए। उनका अनुसार अधिकांश युवा रोजगारीका लागि विदेश गएकाले गाउँमा खेती गर्ने जनशक्ति नै कम हुँदै गएको छ। यस्तै, फक्ताङलुङ गाउँपालिका–६ किसङवाका केरसिं लिम्बू, जो एक समय जिल्लाका प्रमुख चिराइतो उत्पादक किसान थिए, अहिले अलैँची खेतीतर्फ लागेका छन्। यसले जिल्लाभर चिराइतो खेतीप्रतिको आकर्षण घट्दै गएको संकेत गरेको छ।
नेपालका करिब ६० हिमाली तथा पहाडी जिल्लामा पाइने चिराइतो औषधीय गुणका कारण महत्वपूर्ण जडीबुटी मानिन्छ। नेपालमा पाइने ३१ प्रजातिमध्ये व्यापारिक रूपमा नौ प्रजातिको कारोबार हुने गरेको छ, जसमा स्वेर्सिया चिराइतो प्रमुख रहेको अनुसन्धानकर्ता डा. टङ्कप्रसाद वराकोटी बताउँछन्। चिराइतो आयुर्वेदिक तथा आधुनिक औषधि उत्पादनमा प्रयोग हुने बहुउपयोगी जडीबुटी हो।
ज्वरो, रुघाखोकी, मधुमेह, छालाका रोग, ग्यास्ट्रिकलगायत विभिन्न स्वास्थ्य समस्याको उपचारमा यसको प्रयोग हुँदै आएको छ। विश्व बजारको करिब ५० प्रतिशत माग नेपाली चिराइतोले पूरा गर्ने तथ्य पनि उल्लेखनीय छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०८०र८१ मा ६ हजार २० किलोग्राम चिराइतो निकासी भएको थियो भने २०८१ र ८२ मा यो घटेर ५ हजार ४०० किलोग्राममा सीमित भयो।
आर्थिक वर्ष २०८२ र ८३ मा भने २० हजार ३२० किलोग्राम निकासी भएको तथ्यांक छ। त्यस्तै, मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार गत आर्थिक वर्षमा पाँच लाख १३ हजार ८६५ किलोग्राम चिराइतो भारत निर्यात गरिएको थियो।किसानका अनुसार राम्रो आम्दानी दिने सम्भावना हुँदाहुँदै पनि बजारको अनिश्चितता, जनशक्ति अभाव र वैकल्पिक रोजगारीतर्फ युवाको आकर्षणका कारण चिराइतो खेती संकटमा पर्दै गएको छ।






































