काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेको छ।

मन्त्रालयले बबई र भेरी–बबई डाइभर्सन आयोजना आगामी दुई वर्षभित्र तथा सुनकोशी–मरिन डाइभर्सन, सिक्टा र रानी जमरा–कुलरिया सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव मोहनकुमार शाक्यले मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले आयोजनाहरूको प्रगति, चुनौती र समयसीमाबारे समीक्षा गर्दै नयाँ कार्ययोजना तय गरेको जानकारी दिए।

उनका अनुसार बबई र भेरी–बबई आयोजना अन्तिम चरणतर्फ अघि बढिरहेका छन् भने सुनकोशी–मरिनमा ठेक्का व्यवस्थापन, सिक्टामा प्राविधिक समस्या र रानी जमरा–कुलरियामा जग्गा प्राप्ति प्रमुख चुनौतीका रूपमा रहेका छन्। यस्तै, महाकाली सिँचाइ आयोजना भने जग्गा प्राप्ति र भारतबाट प्राप्त हुने पानीसम्बन्धी विषयका कारण आर्थिक वर्ष २०९१ र ९२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

सहसचिव शाक्यले विगतमा निर्माण व्यवसायीको ढिलासुस्ती र आयोजनाको कार्यक्षेत्र विस्तार हुँदै जाँदा निर्धारित समयमै काम सम्पन्न हुन नसकेको उल्लेख गर्दै अब आवश्यक बजेट, समन्वय र सहजीकरणमार्फत तोकिएको समयभित्र आयोजना पूरा गर्ने तयारी गरिएको बताए।