काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा २४ हजारभन्दा बढी गैरअमेरिकी नागरिकले अवैध रूपमा मतदान गरेको दाबी गरेका छन्।
उनले अमेरिकी जनगणना ब्युरोले मतदाता अभिलेख र नागरिकताको विवरण तुलना गर्दा यस्तो तथ्य फेला परेको बताएका हुन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत ट्रम्पले पहिलो १२ करोड ८० लाख मतदाताको विवरण परीक्षण गर्दा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरेको देखिएको उल्लेख गरेका छन्। बाँकी ३ करोड २० लाख मतदाताको विवरण परीक्षणपछि यो सख्या अझ बढ्न सक्ने उनको भनाइ छ।
ट्रम्पले सन् २०२० को निर्वाचनमा आफू नै विजयी भएको दाबी दोहोर्याउँदै अमेरिकी संसद्लाई ‘सेभ अमेरिका एक्ट’ पारित गर्न आग्रह गरेका छन्। प्रस्तावित कानुनले संघीय निर्वाचनका लागि मतदाता दर्ता गर्दा अमेरिकी नागरिकताको प्रमाण अनिवार्य गर्न, मतदानका क्रममा वैध फोटो परिचयपत्र देखाउन र मतदाता नामावलीबाट गैरनागरिकको नाम हटाउने व्यवस्था गर्न खोजेको छ।
त्यसैगरी, निश्चित अपवादबाहेक हुलाकमार्फत मतदानमा कडाइ गर्ने प्रस्ताव पनि उक्त विधेयकमा समावेश गरिएको छ। ट्रम्पले भारतको निर्वाचन प्रणालीको उदाहरण दिँदै अमेरिकामा पनि मतदाता परिचयपत्रसम्बन्धी व्यवस्था थप कडा बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार भारतमा प्रत्येक मतदाताले फोटोसहितको परिचयपत्र प्रयोग गर्ने व्यवस्था रहेको छ।
यसैबीच, ह्वाइट हाउसले ‘सेभ अमेरिका एक्ट’ अमेरिकी नागरिकले मात्र संघीय निर्वाचनमा मतदान गर्ने सुनिश्चित गर्न ल्याइएको विधेयक भएको जनाएको छ। ह्वाइट हाउसले नागरिकताको प्रमाण, वैध परिचयपत्र र मतदाता नामावलीको शुद्धीकरणजस्ता व्यवस्था निर्वाचनको विश्वसनीयता बढाउन आवश्यक रहेको बताएको छ।
यद्यपि, ट्रम्पले २०२० को निर्वाचनमा २४ हजारभन्दा बढी गैरनागरिकले मतदान गरेको दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाण वा विस्तृत विवरण भने हालसम्म सार्वजनिक भएको छैन।






































